पुष्पलाल : समाजवादको रातो लाल्टिन

७ श्रावण २०७६, मंगलवार ११:०५

पुष्पलाल आजसम्मको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा लामो समय आँधी–हुरीमा ननिभेका रातो लालटिन हुन्

नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल रातो लाल्टिन थिए । तत्कालीन राजनीतिक अवस्थामा उनलाई प्रभावित पार्न सक्ने धेरै प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि प्रभावित नभई अडेको एक ‘अर्गानिक लिडर’ । प्रजा परिषद्मा रहँदा होस् वा प्रजातन्त्र संघ बनाउँदा अथवा नेपाल राष्ट्रिय कांग्रेसमा आउँदा उनको हरेक खोजको केन्द्रमा श्रमजीवी वर्ग थियो । झन् उनैले पार्टी गठन गर्न खोज्दा त्यो खोज र हाँक उनमा नहुने कुरै भएन ।
दाइ गंगालालको हत्या हुँदा उनी करिब १६ वर्षका थिए । पार्टी महासचिव हुँदा २४–२५ वर्षका । त्यस कालखण्डलाई नियाल्दा श्रमजीवी वर्गको मुक्तिका निम्ति संघर्ष गर्दै गरेको पुष्पलाललाई हामी फेला पार्छौं । उनी राणाशाहीबाट मुक्त हुनुपर्छ भन्नेमा सीमित छैनन् । उनी नेपाललाई सामन्तवादबाट कसरी मुक्त गर्न सकिन्छ भन्नेमा आफ्नो संघर्र्ष केन्द्रित गर्छन् ।
समकालीन राजनीतिमा शक्तिशाली बिरासत बोकेर आएका डिल्लीरमण रेग्मी, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइरालाको तुलनामा उनीसँग सहिद गंगालालको भाइ भन्नेबाहेक केही थिएन । उनीहरूको तुलनामा पुष्पलाल सामान्य किशोरवय सकेको एउटा युवा मात्र देखिन्थे, जबकि उनको तुलनामा कांग्रेसका नेता बौद्धिक थिए, ठूलो पारिवारिक पृष्ठभूमिका थिए । तर, जम्मा डेढ/दुई प्रतिशत जनता साक्षर भएको मुलुकमा बिरासतविना जन्मिएका पुष्पलालले मार्क्सवाद र ज्ञान–विज्ञानको दुनियाँमा त्यति ठूलो पहुँच राख्नु आफँैमा असाधारण थियो । भारतीय कम्युनिस्ट नेपालमा कम्युनिस्ट पार्टी नै चाहिँदैन भन्दै थिए । कांग्रेससँग मिलेर क्रान्ति गर्दा राम्रो हुन्छ भन्ने उनीहरूको बुझाइ थियो ।
डिल्लीरमण रेग्मी आफूलाई माक्र्सवादसँग अलिक झुकाव भएको ठान्थे, तर उनको हिमचिम राणासँग छ भन्ने पुष्पलालको बुझाइ थियो । पुष्पलाल बिपी माक्र्सवादसँग टाढा छन् भन्ने आधारमा समदूरी कायम राख्छन् र डिल्लीरमणसँग उभिन्छन् । तर, प्रजातन्त्रको सवालमा बिपीसँग उभिन्छन् र डिल्लीरमणसँग समदूरी राख्छन् । कैयौँ मामिलामा पुष्पलाल भारतीय कम्युनिस्टसँग उभिन्छन्, तर नेपालमा कम्युनिस्ट आन्दोलन संगठित गर्ने सवालमा भने भारतीय कम्युनिस्टको सल्लाह मान्दैनन् ।
भारतीय सत्ताले नेपाललाई आफ्नो प्रभाव क्षेत्र ठानेसरी भारतीय कम्युनिस्टले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफ्नो प्रभाव क्षेत्र ठान्ने स्थिति थियो । यस्तो परिस्थितिमा त्यो मान्छे, जसका पछाडि कुनै बिरासत छैन, उसले कम्युनिस्ट पार्टी गठन गर्ने कुरा इतिहासमा चानचुने विषय होइन । पुष्पलालले ००४ सालतिर भारत बसाइका क्रममा ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’, ‘लेनिनको गाउ“का गरिबलाई अपिल’, र कयैन चिनिया तथा सोभियत रचनाहरू अनुवाद गरिसकेका थिए । जबकि उनी त्यतिवेला पुस्तक बेचेर आफ्नो आजीविका चलाउँथे । उनको तुलनामा राष्ट्रिय कांग्रेसको सचिव भइसकेका अन्य मान्छेले त्यसरी गुजारा गर्नुपर्ने अवस्था थिएन ।

स्केच तस्विर पुष्पलाल

स्केच तस्विर पुष्पलाल

उनी झन्डै २१ वर्षको उमेरमा राष्ट्रिय कांग्रेसको सचिव भएका थिए । यी सबै समस्यामा टेकेर उनैले कम्युनिस्ट पार्टी गठन गरे । यसर्थ उनी इतिहासको चुनौतीलाई स्वीकार गर्दै त्यहाँसम्म आइपुगेका थिए, जुन सामान्य परिघटना होइन । ०१७ सालपछिको अन्तर्राष्ट्रिय परिस्थितिले विश्व मानचित्रमा रुस–चीन विवादलाई सतहमा ल्याइदिएको थियो । त्यसको असर नेपालमा नपर्ने कुरै थिएन ।
रुसी खेमाको नेतृत्व केशरजंग रायमाझीले गर्थे भने चिनियाँ खेमा रुसी अभियानलाई सोभियत साम्राज्यवाद भन्थ्यो । रुसी खेमामा रहेका रायमाझी राजालाई समर्थन गर्थे, भन्नुको अर्थ पार्टीको बहुमत सदस्यको समर्थन दरबारलाई थियो । अरू केही समूह पनि सक्रिय थिए, जसले संविधानसभाको माग गर्थे, तर पुष्पलाल न त दरबार न संविधानसभाको पक्षमा थिए । उनी संसद् पुनस्र्थापनाको माग गरिरहेका थिए । यो मूलतः कांग्रेसको संसद् थियो, जहाँ कम्युनिस्टका जम्मा चारजना सदस्य मात्र सहभागी थिए ।
पुष्पलालले त्यही कांग्रेसको संसद् पुनस्र्थापनाको माग गरिरहेका थिए, जसले ००७ सालको क्रान्तिमा ‘हामीलाई पनि सहभागी गराऊ’ भन्दा मानेको थिएन । तर, कांग्रेसले किनारा लगाएको कम्युनिस्ट नेता पुष्पलाल संसद् पुनस्र्थापनाको माग गरिरहेका थिए । यसबाट पुष्पलालले आफूलाई प्रजातन्त्रको पक्षमा उभ्याउँछन् । उनका आफ्ना केही सीमा छन् र मौलिकता पनि । उनी न त रुसी प्रभावमा रहेको नेतृत्वसँग दरबार पस्छन् न चिनियाँ प्रभावमा परेर सोभियत साम्राज्यवाद भन्छन् । यही उनको मौलिकता हो ।
यसै बेलामा कांग्रेसका अधिकांश नेता भारत निर्वासित भए भने कैयौँ जेल गए । भारत निर्वासनमा रहेको कांग्रेसले राष्ट्रियताको सवालमा स्पष्ट अडान लिन सकेन । राजा पनि राष्ट्रियताको मुद्दा देखाएर कांग्रेसलाई लखेट्दै थिए । त्यतिवेला पुष्पलाल भारतसँग राष्ट्रिय मुद्दाको वकालत गर्छन्, तर राजाविरुद्ध उभिन्छन् । त्यतिवेलाको पुष्पलालको दृष्टि र अडान असाधारण देखिन्छ । उता, पार्टीभित्र पुष्पलालको अवस्था भने निकै कमजोर छ ।
पार्टीभित्र कमजोर यसमानेमा कि ००६ सालमा पार्टी गठन गरेको व्यक्ति ००९ सम्म आइपुग्दा पार्टीबाट बेदखल हुन पुग्छ । ०१० सालमा मनमोहन अधिकारी पार्टी नेतृत्वमा आइसकेका थिए, तर राजाप्रति नरम हुने सर्तमा । ०१२ सालको महाधिवेशनमा नीति पुष्पलालकै पारित भयो, तर नेतृत्वमा केशरजंग रायमाझी आइपुगे । यी यावत् उतारचढावबीच पुष्पलाल आफ्नो अडान छाड्दैनन् । उनी राष्ट्रियताको पक्षमा छन्, तर राजाको विपक्षमा उभिन्छन् । उनी प्रजातन्त्रको पक्षमा छन्, तर कांग्रेसको विपक्षमा उभिन्छन् । सबै उनका विरुद्धमा छन्, तर भारतस“ग सम्झौता गरेर अघि बढ्न उनी तयार छैनन् ।
मूलतः उनको नयाँ जनवादको मर्ममा राष्ट्रियता, जनवाद र प्रजातन्त्र रहेको छ । यसका लागि उनी आफू क्षतविक्षत भएर पनि कम्युनिस्ट पार्टी टिकाउन पछि पर्दैनन् । जसको स्पष्ट झल्को हामीले पार्टी पुनर्गठित गर्दा देख्छौँ । किनभने १९ जना केन्द्रीय समितिमा पार्टी पुनर्गठित गर्दा जम्मा ६ जनाले मात्र उनलाई साथ दिएका थिए । यस्तो अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीलाई जोगाउन पुष्पलालकै प्रशिक्षणले काम गर्‍यो ।

” पुष्पलालले गरेको योगदानलाई हामीले बिर्सन हुन्न, तर उनले खेलेको भूमिका र उनको राजनीतिक कार्यदिशा आज पनि सान्दर्भिक छ र उनले हाम्रो दैनन्दिन राजनीतिमा योगदान गर्छन् भन्नु गलत हुन्छ “

राजाले राष्ट्रियतालाई र कांग्रेसले प्रजातन्त्रलाई निकै महत्वका साथ उठाएका थिए । तर, यी दुवै शक्तिले महत्व नदिएको मुद्दा जनताको जनजीविकाको सवाल नै थियो । पुष्पलालले राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको सवाललाई एकैपटक उठाए । यो उनको मौलिक नारा थियो, जसले गर्दा देशमा लोकतान्त्रिक आन्दोलन, राष्ट्रिय हितको आन्दोलन र जनपक्षीय आन्दोलनलाई बाँचिरहने भूमि तयार भयो । यसको जस पुष्पलाललाई नै जान्छ । उनैले तयार पारेको सैद्धान्तिक जगमा आजको नेपाली कम्युनिस्ट आन्दोलन उभिएको छ भन्नुपर्ने हुन्छ । उनले उठाएका तीन प्रधान सैद्धान्तिक आधारमध्येको एक प्रजातन्त्रको नाराले नै कम्युनिस्ट शक्ति लोकतन्त्रको पक्षमा उभिन्छ भन्ने स्पष्ट भयो । झापा आन्दोलनदेखि मोहनविक्रम सिंह हुँदै माओवादीको जनयुद्धसम्मको सबै आधार उनै पुष्पलालको सैद्धान्तिक धरातलमा उभिएको छ । यस अर्थमा यी सबै पुष्पलाल विश्वविद्यालयका विभिन्न फ्याकल्टी हुन् ।
अब सवाल के हो भने, आजको समयमा पुष्पलालको सान्दर्भिकता के त ? अहिले हामी के भन्दै छौँ भने, नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । यो भन्नुको अर्थ पुष्पलालले सुरु गरेको क्रान्तिको चरण यहाँ आएर सम्पन्न भयो । क्रान्तिको त्यो चरण सकियो भन्नुको तात्पर्य पुष्पलालले नयाँ जनवादी क्रान्तिका लागि तय गरेको क्रान्तिको कार्यदिशा, कार्यक्रम, हिजोको विश्लेषण र उनको राजनीति पुरानो भयो भन्ने हो । हामी उनले विश्लेषण गरेको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्थाबाट धेरै अघि बढिसक्यौँ । यसअर्थमा पुष्पलालको ‘च्याप्टर क्लोज्ड’ भयो । पुष्पलालको च्याप्टर क्लोज भएसँगै उनैको व्याख्या, विश्लेषणमा उभिएर कुनै समय पार्टीलाई नेतृत्व गर्नुभएका मदन भण्डारी, मोहनविक्रम सिंह, सिपी मैनाली, प्रचण्ड सबैको च्याप्टर क्लोज्ड भयो । यसलाई हाम्रो नेतृत्वले ठीक ढंगले बुझ्न नसक्दा यसलाई राम्रोसँग संस्थागत गर्न सकिएको छैन ।
पार्टीले हामी कहाँ आइपुग्यौँ र हाम्रो समाजको आजको चरित्र के हो भनेर स्पष्ट पार्दै यसलाई संस्थागत गर्न नसक्दा अझै पनि नेतृत्वमा कहिलेकाहीँ जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादमै टाँसिइरहने बचकाना प्रवृत्ति देखा पर्दछन् । यो केको परिणति हो भन्दा हामीले पुष्पलाललाई सही ढंगले अध्ययन गर्न सकेनौँ । हाम्रो नेतृत्वले पुष्पलाललाई समेत सही ढंगले बुझ्न सकेन । त्यसैले अहिले पनि अन्योल देखिन्छ । पुष्पलाललाई सम्झने सन्दर्भमा एउटा फ्रेन्च भनाइ सान्दर्भिक हुन आउँछ– ‘द किङ इज डेड, लङ लिभ द किङ’ ।
नेपालमा नयाँ जनवादी क्रान्ति र समाजवादको सपना देख्ने पुष्पलालको ठूलो योगदान छ, त्यो हाम्रो इतिहास हो, तर हामी त्यहाँभन्दा धेरै अघि बढिसक्यौँ । यसलाई हामीले सही ढंगले बुझ्न सकेनौँ भने, हामीले थप समस्या झेल्नुपर्ने हुन्छ । विश्वका कुनै पनि क्रान्ति बनिबनाउ मार्गचित्रबाट सम्पन्न हुँदैनन्, हुन सक्दैनन् । क्रान्ति कुनै इन्जिनियरले कोरेको घर बनाउने प्रक्रिया होइन । क्रान्ति त जीवन्त समाजमा गरिने संघर्ष र सम्झौताको कुल योग हो । समाजमा अनेकौँ अवयव हुन्छन्, जसले समाजमा निरन्तर परिवर्तन ल्याइरहेका हुन्छन् । एउटा जीवन्त राजनीतिक पार्टी समाजका यावत् अन्तरविरोधसँग लड्दै अघि बढ्नुपर्ने हुन्छ ।
खासगरी सोभियत संघको पतनपछि संसारभरका कम्युनिस्टले के शिक्षा लिएका छन् भने अब हिजोको जस्तै सोभियत अथवा चिनियाँ मोडेलबाट क्रान्ति सम्पन्न हुन सक्दैन । नेपालको सन्दर्भमा नेपाली पुँजीपति वर्गको संरक्षक पार्टी नेपाली कांग्रेसले अन्ततः सामन्तवादसँगको लडाइँमा घुँडा टेक्नेछ र सामन्तवादको सहयोगी हुनेछ भन्ने विश्लेषणमा आधारित थियो । तर, परिस्थितिले हामीलाई सोचेभन्दा फरक ठाउँमा उभ्याइदियो । नेपालमा जनवादी क्रान्ति भयो तर, बुर्जुवा शक्तिसँग मिलेर । न त्यो चीनको जस्तो भयो, न त सोभियत रुसको जस्तो । यसअघिसम्म हामी आफैँले पनि यो कुरालाई इन्कार गर्दै आइरहेका थियौँ । तर, यहाँ त्यही भयो । फेरि राजतन्त्रकै गर्भभित्र जति सुधार भए ती सुधारले हामीलाई जनवादी क्रान्तिको धेरै नजिक पुर्‍याइदियो ।
०४७ सालको संविधानमा तीन–चारवटा धाराबाहेक त्यो शुद्ध लोकतान्त्रिक संविधान थियो, यसअर्थ त्यो जनवादी थियो । राजाको सम्पत्तिमा कर नलाग्ने, हदबन्दी नलाग्ने, राष्ट्रप्रमुख राजा हुनेजस्ता तीन–चार धारामा सामन्तवादजस्तो लाग्नेबाहेक अरू कुनै सामन्तसँग विशेषाधिकार थिएन । भन्नुको अर्थ राजतन्त्रको गर्भभित्रै जनवादी क्रान्ति बलशाली भएर गएको थियो । पछि ०६२/०६३ को जनआन्दोलनबाट हामीले सामन्तवादको नेतृत्वलाई हिँडाइदियौँ । यसरी क्रान्ति सम्पन्न भएको थियो । त्यसलै गर्दा हाम्रो क्रान्तिको बाटो पुष्पलालले कोरेको बाटोभन्दा फरक भयो । त्यसैले हाम्रो समाजवादको यात्रा चिनियाँ समाजवादको भन्दा जटिल बाटो भएर अघि बढ्छ भन्न सकिन्छ ।
यहाँको समाजवादको बाटो यहीँका नेतृत्वले सोचेको र खनेको गोरेटो हुँदै अघि बढ्छ । हाम्रो समाजवादको बाटो यहाँका बुर्जुवा भनिने शक्ति र कम्युनिस्ट शक्तिका बीच अन्तरविरोध र सहकार्यको बाटो हुँदै अघि बढ्छ । त्यसैले नेपालका कम्युनिस्ट शक्ति र नेतृत्वले यो कुरा बुझेर अघि बढ्नुपर्नेछ । यस कसीमा म विप्लवलाई पनि मार्क्सवादी पाउँदिनँ । यहीँनेर पुष्पलालको अध्ययन जरुरी हुन आउँछ ।
पुष्पलालको अध्ययन हाम्रा लागि किन पनि महत्वपूर्ण हो भने, पुष्पलाल हाम्रो समाजवादको आधारशिला अथवा जग हो । हामीले हाम्रो जगको राम्रो सम्वद्र्धन गर्नुपर्ने हुन्छ । यदि हामीले पुष्पलाललाई हाम्रो इतिहासको जग मान्न इन्कार ग-यौँ भने, हामी उनलाई देवत्वकरण गर्नतर्फ लाग्छौँ । कुनै मान्छेको देवत्वकरण गरियो भने त्यो पण्डितको नर्क बन्छ । समाज बनाउन हामीले भौतिकवादी दृष्टिकोणबाट इतिहासलाई र त्यसका पात्रलाई सही ढंगले मूल्यांकन गर्दै अघि बढ्नुपर्ने हुन्छ ।
हामी पुष्पलाललाई गद्दार, अझ भनौँ अन्तर्र्राष्ट्रिय साम्राज्यवादको षड्यन्त्रबमोजिम अघि सारिएको मान्छे भन्ने मान्यता राख्थ्यौँ । म आफैँ त्यस पृष्ठभूमिबाट हुर्किएर आएको हुँ । अहिले फर्केर हेर्दा पुष्पलालको मूलतः दुई कारणले आलोचना भयो जस्तो लाग्छ । पहिलो, कम्युनिस्ट पार्टीबाहिरका शक्ति केन्द्रले पार्टीका निर्णयलाई धेरै नै प्रभावित पारे । यसमा पर्याप्त रूपमा दरबार र भारतले खेले । दोस्रो, रुसी र चिनियाँ खेमाका बीच रहेको तिक्तताको पुष्पलाल सिकार भए । जुन मान्छेले नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने क्रममा एक थाल राम्रो भात खान नपाई ज्यान गुमाउन पुग्यो, हामीले उनैलाई आरोपित गरिएछ । तर, सिद्धान्त जोगाउने सन्दर्भमा उनी नै हामी सबैका आदर्श हुन् । यो नेपाली कम्युनिस्ट आन्दोलनले सिक्नुपर्ने महत्वपूर्ण शिक्षा हो । यस अर्थमा पुष्पलाल नयाँ पुस्ताले प्रेरणा लिन सक्ने व्यक्ति हुन् ।
पुष्पलालले गरेको योगदानलाई हामीले बिर्सन हुन्न, तर उनले खेलेको भूमिका र उनको राजनीतिक कार्यदिशालाई आज पनि सान्दर्भिक छ र उनले हाम्रो दैनन्दिन राजनीतिमा योगदान गर्छन् भन्नु गलत हुन्छ । त्यसैले आजको समाजमा अब पुष्पलालले सुझाएको बाटो काम लाग्दैन । उनी हाम्रा लागि इतिहासका महत्वपूर्ण पात्र हुन् । इतिहासलाई कुनै पनि मार्क्सवादीले दुत्कार्नका लागि होइन कि अघि बढ्नका लागि प्रयोग गर्छ । पुष्पलाल आजसम्मको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा लामो समय आँधी हुरीमा ननिभेका रातो लाल्टिन हुन् । नयाँ पत्रिका दैनिकबाट साभार