नेकपाका २२ जनसंगठनले पाए नेतृत्व (नामावलीसहित)

८ असार २०७६, आईतवार २२:०६

तत्कालीन एमाले पक्षलाई १६ र माओवादी पक्षलाई ६ जनसंगठनको नेतृत्व, युवा र विद्यार्थीमा असन्तुष्टि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ । बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई १६ र माओवादी पक्षलाई ६ जनसंगठनको नेतृत्व दिएर भागबन्डा टुंग्याएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ । एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सहसंयोजक दिइएको छ ।

 बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मदन–आश्रित स्मृति दिवसका अवसरमा शुक्रबार बिहान तत्कालीन एमाले कार्यालय बल्खुमा आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा सबै जनसंगठनको नेतृत्वको नामावली सार्वजनिक गरिने बताए । नेकपा स्थापना पनि शुक्रबार नै एक वर्ष पुग्दै छ । मदन–आश्रित स्मृति दिवसमा बल्खुमा आयोजित कार्यक्रमलाई अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

किसान महासंघको नेतृत्वमा वामदेव गौतम

केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमसहित केही केन्द्रीय सदस्यसमेत जनवर्गीय संगठनको संयोजक भएका छन् । गौतम किसान महासंघको संयोजक तोकिएका छन् । तत्कालीन एमालेमा पनि उनी किसान महासंघकै अध्यक्ष थिए । त्यस्तै, जनजाति महासंघको संयोजक तोकिएका सुरेश आलेमगर र सहसंयोजक शेरबहादुर तामाङ पार्टी केन्द्रीय सदस्य हुन् । प्रेस संगठन नेपालको संयोजक बनाइएका महेश्वर दाहाल पनि पार्टी केन्द्रीय सदस्य नै हुन् ।

जनसंगठनको नेतृत्वमा रहेका अन्य पार्टी केन्द्रीय सदस्यमा युवा संगठन संयोजक रामप्रसाद सापकोटा, भूमिहीन किसानका संयोजक रामप्रित पासवान, मजदुर संयोजक विनोद श्रेष्ठ छन् । त्यस्तै, महिला संयोजक अमृता थापामगर र सहसंयोजक सीता पौडेल, पेसागत महासंघ संयोजक विश्वनाथ प्याकुरेल, जनसांस्कृतिक महासंघ संयोजक खगेन्द्र राई, दलित संगठन संयोजक तिलक परियार पनि पार्टी केन्द्रीय सदस्य हुन् ।

अखिलमा असन्तुष्टि : रोलक्रम मिचेर एकीकरण भएको रञ्जित तामाङ र रश्मि आचार्यको आरोप

जनसंगठनहरूको एकताको सूची सार्वजनिक भएलगत्तै अनेरास्ववियुभित्र असन्तुष्टि देखिएको छ । दोहोरो मापदण्ड अपनाएर विधि–प्रक्रिया मिचेर विद्यार्थीमा एकीकरण गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिलका उपाध्यक्ष रश्मि आचार्यले आपत्ति जनाएका छन् । पार्टीले अन्याय गरेको आरोप लगाउँदै ‘एकतामा विचित्रको विधि नअपनाउन’ नेतृत्वलाई खबरदारी गरेका छन् । विद्यार्थीमा तत्कालीन एमालेका तर्फबाट अखिलका महासचिव ऐन महरलाई संयोजक र तामाङलाई सहसंयोजक तोकिएको छ ।

‘पार्टीले ममाथि अन्याय गरेको छ, विधि प्रक्रिया मिचेर गरिएको निर्णयप्रति मेरो असहमति छ, केही दिनभित्र धारणा सार्वजनिक गर्छु,’ तामाङले भनेका छन् ।आचार्यले पनि तामाङकैजस्तो असन्तुष्टि पोखेका छन् । ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियुमा एकैचाटि महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’ आचार्यले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन्, ‘यस्तो दोहोरो मापदण्ड पक्कै पनि नअपनाउनुपर्ने । पार्टीको आधिकारिक घोषणा नहुन्जेल यस्तो कुरामा विश्वास गर्ने कुरै भएन ।’  एकीकृत अनेरास्ववियुको संयोजक बन्ने चाहना पार्टी नेतृत्वसामु स्पष्ट राखेका कारण अझै पार्टीले छलफल गरेर न्याय दिने आशा राखेको दाबेदारहरूले बताएका छन् ।

युवा संगठन संयोजक दीपशिखाको नाममा अध्यक्ष केपी ओलीकै असहमति

युवा संगठनको संयोजक तोकिएका रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाममा अध्यक्ष केपी ओलीले नै असहमति राखेका थिए । असहमतिको बाबजुद उनको नाम टुंगो लागेको छ । उच्च स्रोतका अनुसार दीपशिखाले सरकार र राष्ट्रपतिकैविरुद्ध अभिव्यक्तिहरू दिने गरेको, पार्टी निर्णय र नेतृत्वलाई लत्याउने गरेको भन्दै ओलीले अर्को नाम ल्याउन प्रचण्डलाई दबाब दिएका थिए । तर, प्रचण्डले आफ्नो समूहले पाएको नेतृत्वमा हस्तक्षेप स्विकार्य नहुने अडान राखेपछि उनको नाम टुंगो लागेको हो ।

 २२ जनसंगठनले पाए नेतृत्व

पूर्वएमाले समूह संयोजक र पूर्वमाओवादी समूहले सहसंयोजक पाएका संगठन

किसान महासंघ

संयोजक : वामदेव गौतम

सहसंयोजक : चित्रबहादुर श्रेष्ठ

 भूमिहीन किसान

संयोजक : रामप्रीत पासवान

सहसंयोजक : पदम देवकोटा

 अखिल

संयोजक : ऐन महर

सहसंयोजक : रञ्जित तामाङ/सुरेन्द्र बस्नेत

 मजदुर

संयोजक : विनोद श्रेष्ठ

सहसंयोजक : जगत सिम्खडा

 पेसागत महासंघ

संयोजक : विश्वनाथ प्याकुरेल

सहसंयोजक : दयाराम बस्याल

 जनसांस्कृतिक महासंघ

संयोजक : खगेन्द्र राई

सहसंयोजक : सरल सहयात्री

 मुस्लिम

संयोजक : सिराज महमद फारुकी

सहसंयोजक : अत्तर हुसेन फारुकी

 भूपू सुरक्षाकर्मी

संयोजक : धनबहादुर चन्द

सहसंयोजक :  मिठाराम केसी

  बुद्धिजीवी

संयोजक : डा. दिनेशचन्द्र देवकोटा

सहसंयोजक : कृष्ण केसी

  इन्जिनियर

संयोजक : शम्भुबहादुर श्रेष्ठ

सहसंयोजक : हरि पराजुली

 वकिल

संयोजक : रुद्र नेपाल

सहसंयोजक : दीनमणि पोखरेल

 मानवअधिकार

संयोजक : मीनबहादुर शाही

सहसंयोजक : हुकुम पोखरेल

 उद्योगी व्यवसायी

संयोजक : लक्ष्मीराज मानन्धर

सहसंयोजक : श्याम पाठक

 खेलकुद महासंघ

संयोजक : पुरुषोत्तम पौडेल

सहसंयोजक : शिव कोइराला

  नेपाल निर्माण व्यवसायी संगठन

संयोजक : यक्षध्वज कार्की

सहसंयोजक : शिवप्रसाद चौलागाईं

  प्रवासी नेपाली मञ्च

संयोजक : लोकनाथ भण्डारी

सहसंयोजक : ईश्वरी भण्डारी

 पूर्वमाओवादी समूह संयोजक र पूर्वएमाले समूहले सहसंयोजक पाएका संगठन

  युवा

संयोजक : रामप्रसाद सापकोटा ‘दीपशिखा’

सहसंयोजक : रमेश पौडेल

(नोट : सापकोटाको नाममा अध्यक्ष केपी ओलीको असहमति)

  महिला

संयोजक : अमृता थापामगर

सहसंयोजक : सीता पौडेल

  पत्रकार

संयोजक :  महेश्वर दाहाल

सहसंयोजक : गणेश बस्नेत

 दलित

संयोजक :  तिलक परियार

सहसंयोजक : बोम विश्वकर्मा

 जनजाति महासंघ

संयोजक :  सुरेश आलेमगर

सहसंयोजक : शेरबहादुर तामाङ

 अपांगता भएका व्यक्तिहरूको संगठन

संयोजक :  इन्द्रमाया गुरुङ

सहसंयोजक : रामप्रसाद ढुंगाना

 मधेसी संगठन

नाम तय हुन बाँकी